नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउँछु : मन्त्री इश्तियाक राई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन्।

उनले त्यस्ता ठेकदारहरूको खोजी भइरहेकाले बिस्तारै ठीक लगाउने बताए। मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम नसक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए। उनले सरकारकाले कुनै पनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए।

उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताए। मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताइन्। उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताइन्।

भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्नेमा गैरजिम्मेवार बन्नको लागि ठाउँ दिएको बताइन्। उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरिन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरूले डोजर आतंक मच्चाएका कारण सडकमा ठूलो समस्या भोगेको बताए।

बैठकमा अधिकांश सांसदहरूले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *