परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका खनालले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्। उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए।

सम्मानित नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए। उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए।

उहाँले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि वृहत् वाम एकताको सम्भावना नरहेको दाबी गरे।

सम्मानित नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको बारेमा यो महत्त्वपूर्ण भ्रमण रहेको बताए। उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए।

उनले नेपाल ‘एक चीन नीति’ मा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे। उनले यी क्षेत्रमा जुनसुकै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए। उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए।

खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसद्मा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न्को लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताए।

प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर