प्रधानन्यायाधीश बिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र समशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताए । सोही अनुसार नै महाभियोग अघि बढाइएको समेत उनले स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुग्ने गरेरै महाअभियोग अघि बढाइएको बताए ।

सांसद पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार मानेर पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरुका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए ।

‘हामी संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । सामान्यतया २०७४ मा हाम्रो एउटा मत छ, त्यसलाई आधार बनाएर जाऔँ भन्ने कुरा छ । कति साथीहरुले २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार बनाएर सिट बाँडफाँट हुनुपर्ने कुरा छ । पार्टीहरुका गम्भीरता र संवेदनशीलतालाई पनि हेरेर व्यवहारिक रुपले पहिले नीतिगत व्यवस्था गरौँ, निश्चित आधार बनाऔँ र सिटहरु बाँडफाँट गरौँ भन्ने कुरा छ । अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्नेकुरा स्वभाविक हो । गत स्थानीय निर्वाचनमा यसअघि जुन पार्टीले जितेको छ, त्यसैलाई प्राथमिकता दिएका थियौँ । अहिले पनि त्यो हुनपनि सक्छ । त्यो एउटा आधार बन्नसक्छ । तर यहीमात्र अन्तिम आधार होइन । गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेका छौँ । त्यसै अनुसार तालमेल मिलाउँछौँ,’ नेता पुनले भने ।

सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्नेकुरा स्वभाविक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर