सरकारले स्वास्थ्य बीमा खारेज गर्न लाग्दैछ : खगराज अधिकारी

नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बीमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको बताएका हुन् ।

सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एच.आई.भी.एड्स संक्रमितहरूले लाभ लिइरहेकाले उनीहरूको स्वास्थ्यमाथि खेलबाड नगर्न अनुरोध गरे । उनले यसलाई कुनै पनि हालतमा सरकारले जनपक्षीय रूपमा सञ्चालन गर्नुपर्ने बताए ।

त्यस्तै समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसमक्ष अनुरोध गरे । उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरू गरेको आरोप लगाए ।

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासीनता देखाएको बताए । उनले यस सम्बन्धमा सरकारले संसद्मा आएर जवाफ दिनुपर्ने माग पनि गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *