नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : देव गुरुङ

नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र ‘काँडेतार’को बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे ।

उनले देशलाई सैन्य क्रीडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए । उनले नेपालमा विदेशीहरूको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए ।

उनले नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको बताए । उनले नेपालमा खुला सिमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरूको ओसारपसारको वृद्धि र राजस्व छली भइरहेको बताए । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको उनले बताए ।

उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताए । उनले पासपोर्ट र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागमा अतिक्रमण बढिरहेको बताए । उनले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरूले नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताए ।

उनले खुला सिमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताए । उनले खुला सिमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर