एमालेले गठन गर्‍यो चुनावी घोषणापत्र मस्यौदा समिति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो ।

समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको बताए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटीका सबै सदस्यहरू र केन्द्रीय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू अध्यक्ष, उपाध्यक्ष र सचिवहरू, प्रदेश किमटीका अध्यक्षहरू, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू, केन्द्रीय विभागका सचिवहरू रहने गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी पनि गठन भएको बताए ।

प्रमुख गुरुङले विभिन्न १५ विभागका सचिवहरू पनि मनोनयन गरेको बताए । उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सूरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ ।

त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको उनले बताए । उनले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गरेको, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रश्तावित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पनि पारित गरेको बताए ।

विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरूको सन्दर्भमा आवश्यकताअनुसार तल्लो कमिटीहरूले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय भएको पनि बताए ।

आजको बैठकले केही केन्द्रीय सदस्यको जम्मेवारी हेरफेर गरेको छ । जसमा मधेस प्रदेशको सह इन्चार्जमा रामदल मण्डल तोकिएका छन् भने महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सहइन्चार्ज तोकिएको छ । त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इन्चार्जमा कृष्ण थापालाई तोकिएको उनले बताए ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार आजको बैठकले नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ ।

नेकपा एमालेले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटीको बैठक, भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक र भदौ १० र ११ गते केन्दी्रय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *