‘आमनिर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ प्रतिस्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्छ’

आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरूले जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरूले आफ्नो भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । महिला नेतृहरूले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरूले महिललाई अघि सारेर जानुपर्ने बताए ।

महिलालाई प्रत्यक्षतर्फ प्रतिस्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्ने उनीहरूको माग छ । उनीहरूले हरेक निर्वाचनमा क्रमशः महिलाहरूको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरूको लागि राजनीतिक दलहरूले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन् ।

शुक्रवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताइन् । उनले अझै पनि राजनीतिक दलहरूले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गरिन् ।

उनले महिलालाई समानुपातिक नभई प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराए मात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताइन् । उनले समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरू जान जरुरी रहेको बताइन् ।

उनले अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने बताइन् । दलभित्रका महिला नेतृत्वहरूले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भूमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि बताइन् ।

उनले उम्मेदवारी दिने कुरा नभई लिने कुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्ने बताइन् । उपसभामुख भुसालले महिलाले कुनै भयको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृकै काँधमा रहेको बताइन् । उनले उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्नको लागि समय पर्याप्त रहेको बताइन् ।

उपसभामुख भुसालले महिलाले प्रतिस्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिस्पर्धा कोसँग गर्ने भन्ने कुरा दोस्रो भएकाले प्रतिस्पर्धामा उत्रिन आफ्नो भूमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरूले आफूले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरिन् । उनले अहिले हुने निर्वाचनमा कम्तीमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरूले गर्नुपर्ने बताइन् । उनले संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले यदि महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक संख्यामा महिलाहरूको पनि उम्मेदवारी दिने कुरा सोच्नुपर्ने बताइन् ।

उनले एक तिहाइ निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने बताइन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्ट ट्र्याबाट काम गर्न सकिने बताइन् । उनले प्रत्यक्ष निर्वाचनमा राजनीतिक दलहरूले महिलालाई उम्मेदवार नबनाउँदा सबै महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट लैजनुपरेको भन्दै यसले सीमान्तकृत, अल्पसंख्यक, निम्न वर्गका पुरुषलाई असर गरेको बताइन् । उनले पहिलो हुने निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी संविधानसम्मत दिनुपर्ने माग माग गरिन् ।

त्यस्तै नेपाली कांग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनै पनि राजनीतिक दलले ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनैपर्ने बताइन् । उनले शक्तिशाली नेताहरूसँग महिलालाई प्रतिस्पर्धामा उतार्न नहुने बताइन् । उनले समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भए पनि महिललाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरूले कदम चाल्नुपर्ने बताइन् ।

उनले गठबन्धनको नाममा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने परिस्थिति नदोहोर्‍याउन पनि आग्रह गरिन् । अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने बताइन् ।

अध्यक्ष राउतले ५० प्रतिशतभन्दा बढी महिलाको जित सुनिश्चित गर्न पार्टीले भूमिका खेल्नुपर्ने बताइन् । उनले महिला निर्वाचनबाट चुनिएर नेतृत्वमा जाँदा देशमा सुशासन कायम हुने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर