विश्व संस्कृत दिवसलाई औपचारिक घोषणा गर्न सरकारसँग माग

संस्कृतज्ञहरूलले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रूपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्कृतज्ञहरूले यस्तो माग गरेका हुन् । पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्तज्ञहरूले यो माग राखेका हुन् ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर शुक्रबार विश्व संस्कृत दिवस मनाइएको हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन संस्कृत दिवस मनाउने गरिन्छ । जसमा संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी गर्न आवश्यक रहेको विद्वान वक्ताहरूले बताएका छन् ।

संस्कृत दिवसको अवसरमा आयोजित पुनः जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले गर्दा सञ्चारमाध्यममा संस्कृत भाषाको पहुँच बढेको छ । त्यस्तै संस्कृतानुरागी व्यक्तिहरू पनि बढ्न थालेका छन् ।

शुक्रबार नेपालसहित विश्वका ३० भन्दा बढी देशमा संस्कृत भाषासम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । यस्ता कार्यक्रमले संस्कृत भाषाको प्रवर्द्धन, संवर्द्धन र उन्नयनमा बढोत्तरी गर्ने आयोजक समितिले बताएको छ ।

संस्कृत भाषाको संवर्द्धन र प्रवर्द्धनमा जोड दिनका लागि यस क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिने वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई योगदानको कदर गर्दै विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्तिको सुरुवात गरिएको थियो । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न सुरु गरिएको आयोजकले जनाएको छ ।

पुरस्कार राशि र कार्यक्रम जरो किलो प्रतिष्ठानले शुभारम्भ गरेको हो । कार्यक्रममा विद्वान वक्ताहरूले संस्कृतको बारेमा आम मानिसमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।

संस्कृत भाषाको जननी भएकाले यसको संरक्षण र संवर्द्धन गर्दै थप कार्यक्रम गर्न आवश्यक रहेको बताए । वक्ताहरूले श्रावण पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्र संघसमक्ष पनि पेस गर्न माग गरेका छन् ।

उनीहरूले नेपाल सरकारले संयुक्त राष्ट्र संघमा यो प्रस्ताव पुर्‍याउन र नेपाल सरकारले पनि संस्कृत भाषाको संरक्षणको लागि महत्त्वपूर्ण भूमिका खेल्न माग गरेका छन् । अनौपचारिक रूपमा विश्व संस्कृत दिवस वि.सं.२०७५ सालबाट मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर