संस्थापक पक्षले टिकट वितरणमा मनपरी गरे त्यसकाे परिणाम गम्भीर हुन्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् ।

नेता केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रूपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे ।

उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । नेता केसीले गठबन्धनका दलहरूले पनि गठबन्धनबाहिरका दलहरूसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकाले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताए ।

उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए ।

नेता केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर