स्थानीय जनप्रतिनिधिलाई देउवाको निर्देशन- कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने गरी लाग्नुस्

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे । कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उनले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

लोकतन्त्रमा जनताभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यताअनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण सफलता हासिल गरेको दाबी गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आमनिर्वाचनमा बहुमत नजिकको पार्टी हुनेगरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर