आमनिर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । जित्ने र टिक्नेहरूलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौंको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारसमेत तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटब्यूरो र केन्दी्रय कमिटीको बैठक भदौ दोस्रो हप्ताका लागि तय गरिएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारूढ गठबन्धनमा आबद्ध कुनै पनि दलहरूसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर