नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने गठबन्धनको निर्णय

सत्तारूढ गठबन्धनले राष्ट्रपतिले संसद्मा पुनर्विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठकले उक्त विधेयक संशोधन नगरी अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाएर तत्काल संसद्मा पेस गर्ने सहमति भएको बताए ।

मन्त्री कार्कीले राष्ट्रपतिलाई भएको सवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा र्फिता आएको बताए । उनले गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत् रूपमा छलफल गरी सरोकारवालाका सल्लाह सुझाव अनुसार अगाडि बढाउने सहमति भएको पनि बताए ।

मन्त्री कार्कीले गठबन्धनले सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्कालगायत पीडित व्यक्ति तथा संघ संस्थाहरूले दिएका सुझावलाई समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक अगाडि बढाउने सहमति भएको बताए । उनले सरकार सत्य निरुपण तथा मेलमिलाप ऐनको समस्या अन्त्य गर्न प्रतिबद्ध रहको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *