टर्दै प्रदेश १ को नामकरण, सभामुख भन्छन्- चालु संसद्बाट सम्भावना छैन

प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामकरण गर्ने सम्भावना नरहेको बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले चालु संसद्बाट प्रदेशको नामकरण हुने सम्भावना न्यून रहेको बताएका हुन् ।

उनले पार्टीहरूका आफ्नाआफ्ना अडान र नेताहरूको केन्द्रीकृत भावनाले प्रदेशको नामकरण हुन नसकेको बताए । उनले प्रदेश संसद्ले प्रदेशको नामकरणका लागि दलहरूबीचमा छलफल गराए पनि सहमति बन्न नसकेको बताए ।

प्रदेश सभामुख भण्डारीले राजनीतिक दलहरूमा पनि भूगोल, जातीयता, प्राकृतिक, सांस्कृतिक पहिचान झल्कने खालका नाममा आफ्नो अडान राख्दा सहमति जुट्न नसकेको दाबी गरे । उनले प्रदेशको नामकरणका लागि दलहरूको सहमति नै आवश्यक रहेको भन्दै कुनै दलले चाहेर मात्रै नामकरण गर्न नमिल्ने बताए ।

उनले प्रदेशको नाममा सहमति बनाउन दुई तिहाइ सांसदहरूको सहमति हुनुपर्ने बताए । उनले कार्यकाल सकिन लाग्दासमेत प्रदेशको नामकरण गर्न नसकेकोप्रति दुःख लागेको बताए । सर्वदलीय बैठकमा दलको सहमति भएर परिणाम निस्किने गरी मात्रै प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सहमति भएअनुसार नामकरणको लागि अहिले कुनै प्रक्रिया अघि नबढाएको बताए ।

सात प्रदेशमध्ये प्रदेश १ को नामकरण प्रदेश सभाको कार्यकाल सकिँदा टुंगिने सम्भावना लगभग सकिएको छ । प्रदेश सभाको कार्यकाल करिब तीन महिना मात्र बाँकी छ । पछिल्लो समय नामकरणको विषयमा दलहरूबीच संवादविहीनताको अवस्था छ । प्रदेशको नामकरणका लागि आधा दर्जनभन्दा धेरै नाम पहिचान र भूगोलसँग जोडिएर चर्चामा आएका थिए । तर, ती नाममध्ये कुन नाम राख्ने भन्ने विषयले प्रदेश सभा बैठकमा प्रवेशसमेत पाएको छैन ।

प्रदेश सभा गठन भएपछि तीन जना मुख्यमन्त्रीले नेतृत्व गरिसकेका छन् । पहिलोपटक एमालेबाट शेरधन राई, दोस्रोमा पुनः एमालेबाट भीमप्रसाद आचार्य र तेस्रोमा राजेन्द्र राईले प्रदेश १ को नेतृत्व गरेका छन् । तीनै जना मुख्यमन्त्रीले प्रदेश १ को नामकरण गर्ने भन्दै पदभार सम्हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर