नागरिकता विधेयकमाथि संसद्मा बहस गर्न नदिएको भन्दै ओलीले भने- गठबन्धन ‘खोपडी नभएको मसले’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसद्मा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारूढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले संसद्ले एकपटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भीर महत्त्वको विधेयकलाई संसद्बाहिरै बसेर सत्तारूढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे ।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद्मा सो विधेयकको विषयमा बहससमेत गर्न नदिएर सत्तारूढ गठबन्धनले आफूलाई ‘खोपडी नभएको मसले’को रूपमा प्रस्तुत गरेको बताए । संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारूढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाइ छ । सत्तारूढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरूको हातमा देश चल्न नसक्ने बताए ।

अध्यक्ष ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने उनको भनाइ छ ।

ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाए उनले माओवादी केन्द्र पार्टी नभई ‘प्रचण्ड एण्ड कम्पनी’ भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको बताए ।

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *