माओवादीका नेताहरू मुखले मात्रै क्रान्तिकारी भए : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखा परेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरेका छन् । उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए ।

उनले व्यक्तिवाद, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिस्पर्धा गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए । उनले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे ।

उनले पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे । अध्यक्ष दाहालले यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए । उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे ।

अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *