‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ दिउँसो होइन, राति पठाउनुपर्छ’

सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गरेका छन् । बिहीबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभई राति पठाउनुपर्ने बताए ।  उनले अफ्ठ्यारा कामहरू राति नै फत्ते हुने बताए । उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य अमृता थापाले भीभीआईपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरेकी छन् । उनले राष्ट्रिय सभाको उपाध्यक्षको तत्काल निवार्चन गर्न माग पनि गरिन् । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्त्व र आमनागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउन माग गरिन् ।

त्यस्तै सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरूले समेत नागरिकतामा गम्भीर नहुँदा लाखौं नागरिक नागरिकताविहीन भएको बताइन् । सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात गरेको बताइन् । उनले राष्ट्रपतिले जनताको संवेनशीलताभन्दा पनि राजनीतिक दलभन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।

सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताए । उनले सरकारले संघीय निजामती ऐन तत्काल ल्याउनुपर्ने माग गरे ।

सांसद कुमारीतुलसी थापाले राष्ट्रपतिबाट संसद्मा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणिकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन् । उनले सत्ता गठबन्धनको अहंकारयुक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पुर्‍याउने बताइन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसद्मा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रूपमा लिनुपर्ने बताए । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटि सच्याउनुपर्ने बताए । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास गर्न नहुने बताए ।

त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्ती भन्दा पनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्नपनि माग गर्नुभयो ।

सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताए । उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईको दोहोरी चलेको देखिएको बताए । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उनको छ । उनले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताए । सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाए ।

सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्रजस्तो संवेदशील विषय उपहार दिएजस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्तास्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए ।

त्यस्तै सांसद धनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारीपन देखाएको बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्तलगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताए । उनले मंसिर ४ गतेभन्दा अगाडि नै सरकार छोड्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *