स्थानीय पूर्वाधार विकास विभागलाई शहरी विकास विभागमा गाभ्ने निर्णयविरुद्ध प्रदर्शन

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका कर्मचारीहरूले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् ।

कर्मचारीहरूले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा शहरी विकास मन्त्रालयमा ल्याउने र शहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी निर्णय भएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनका संयोजक तथा शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल सच्याउनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए । उनले सरकारले इन्जिनियरहरूको माग तत्काल सुनुवाइ नगरे देशभरको शहरी विभागको काम ठप्प पार्ने तथा प्राविधिकहरूले सामूहिक राजीनामा दिने चेतावनी दिए ।

अधिकारीले विशिष्टिकृत श्रेणीका आर्किटेक्ट, प्लानर, स्ट्रक्चर इन्जिनियरहरूले ठूलो माग नभएर आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३०५ मा व्यवस्था गरेको स्थानीय पूर्वाधार विभाग खारेज गरी विभागमा रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा बाँकी कर्मचारी प्रदेश र भौतिक पूर्वाधारसम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था कार्यान्वयन गर्न माग गरेको बताए ।

कर्मचारीहरूले कालो ब्यानरसहित हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरु गरे पनि प्रहरीले कालो ब्यानर र पट्टी भने बाँध्न दिएनन् । आन्दोलनमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, िबल्डिङ एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गतका प्राविधिकहरू सहभागी थिए ।

प्राविधिकहरूको आन्दोलनमा निजामती कर्मचारीहरूको आधिकारिक टे«ड युनियन नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन शहरी विकास विभागीय कार्य समितिहरूको ऐक्यबद्धता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर