श्रममन्त्रीले ‘कल सेन्टर’मार्फत सुने श्रमिककाे गुनासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरूको गुनासो सुनेका छन् ।

श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रूपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् । उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरूले लाखौं रकम लिएकोलगायतका गुनासो प्रत्यक्ष रूपमा सुनेका छन् ।

मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्ष स्वदेश विदेशमा रहेका श्रमिकहरूसँग कुरा गरेर उनीहरूको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानूनअनुसार कारबाही गर्ने बताए । उनले १० वर्ष अगाडि ठगी गर्नेसमेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिए ।

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए । उनले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गरे ।

मन्त्री कँुवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताए । उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए ।

उनले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताए ।

उनले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताए । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझ्दै नबुझि विदेश नजान पनि आग्रह गरे ।

त्यस्तै मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए । उनले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताए ।

उनले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको असुल गरेको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर