जनकपुर–जयनगर रेल : बढ्दै धार्मिक पर्यटक, भारतीय यात्रु खुशी

जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुलाई सहज भएको छ। नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो।

वि.सं २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रूपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए। सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्न भन्दै भारतले रेल सेवा पूर्ण रूपमा बन्द गरेको थियो।

गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शनसहित नेपाल घुम्न आउने भारतीय पर्यटकलाई सहज बनेको छ।  यस्तै नेपालबाट भारत जाने र आउनेका लागि पनि रेल मार्ग सहज बनेको यात्रुको भनाइ छ।

रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन्।

भारतीय पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महसुस भएको बताइन्। उनले रेलको यात्रा पनि धेरै सहज र राम्रो रहेको प्रतिक्रिया दिइन्।  पहिला धेरै समस्या हुने गरे पनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज बनेको बताइन्।

त्यस्तै भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताइन्। उनले दिनमा दुई पटक मात्रै चल्ने भएकोले केही समस्या भए पनि अब अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यकता रहेको बताइन्। रेल चल्दा समयका साथसाथै पैसाको पनि बचत भएको उनले बताइन्।

उनले रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने बताइन्। यात्रु रञ्जुकुमारी देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताइन्।

त्यस्तै भारत बिहारका रामकृष्णले रेल सञ्चालनपछि  काठमाडौंको पशुपतिनाथ आउँदा सहज भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज बनेको बताए। उनले रेल सञ्चालनपछि समयको बचत भएको र सेवा पनि राम्रो रहेको बताए।

त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आएका यात्रु विभाकर कुमारले नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको बताए।

त्यस्तै अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र समयको पनि बचत भएको बताए। उनले पशुपति घुम्न आउन रेल सञ्चालनले धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको बताए।

त्यस्तै टिकट बिक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढिरहेको बताए। उनले रेल अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए।

उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताए। उनले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको बताए।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रो पटक रेल्वे अध्यादेश जारी गरेको थियो। भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो।

३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो। सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो। तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर