‘हरेक पार्टीमा कहिले पुराना नेता मर्छन् र पार्टीले टिकट देला भनेर बस्नुपर्ने स्थिति छ’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताएका छन् ।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना संघीय सरकार मातहत हुँदा संघीय सरकारमा केही बजेट बढी हुनेकुरालाई स्वभाविक रुपमा हेर्नुपर्ने बताए । उनले राष्ट्रियस्तर, प्रदेशस्तर र स्थानीयस्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको पनि बताए ।

उनले जनसंख्या, भूगोल र बजेटको आधारमा योजनाहरु छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजनाहरू, जनसंख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले करोडभन्दा तलका योजना प्रदेशले स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले संविधानले मन्त्रालयको सीमा नतोकेको भए मन्त्रालयको संख्या हिसाब गर्न नसकिने अवस्थामा पुग्ने बताए । उनले संविधानले अधिकतम २५ वटा मन्त्रालय भनेकै कारण २५ वटा मन्त्रालयमा सिमित भएको तर संविधानले नतोकोको खण्डमा दलहरुको भागबण्डाले असीमित मन्त्रालय हुने बताए ।

उनले २५ वटा मन्त्रालय संविधानले अधिकतम भनेको भन्दै सकेसम्म कम मन्त्रालय बनाएर कम आलोचना र टिप्पणी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले संघीयता आफैँ दोषी नभएको भन्दै कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको बताए ।

अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरुको आवाज बनेर संघीयता आउनुपर्ने बताए । उनले देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभइ व्यवहारमा जोडिनुपर्ने बताए । उनले अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताए ।

उनले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरूको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनशायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताए ।

उनले देशलाई गरिबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर