सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्ने बताएका छन् । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

उनले निजामती सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामती सेवा ऐन विधेयक राष्ट्रिय सभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट पास भई ऐन बन्नसक्ने बताए । उनले सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मिहिनेत शून्यमा परिणत हुने बताए । उनले कतिपय विधेयकहरू मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरूप बनिरहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले मूल मर्म एकातिर बनाई भएको विधेयकलाई झनै बंग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको पनि बताए । उनले निजामती सेवा ऐनका लागि विधेयक यही राष्ट्रिय सभा रहँदा ल्याउनुपर्ने कुरा प्रधानमन्त्री, कानूनमन्त्री र संघीय मामिलामन्त्रीहरूलाई भनिसकेकाले यही राष्ट्रिय सभामा विधेयक पेस हुनेमा आशावादी रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । उनले कर्मचारीहरू कुनै पनि दलको नेताहरूसँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर