नक्सा पासबिनाका अनधिकृत संरचनामा काठमाडौं महानगरले लगायाे डाेजर

काठमाडौं महानगरपालिकाले नक्सा पासबिना अवैध रूपमा बनाइएको काठमाडौं मलको संरचना भत्काएको छ । महानगरपालिकाले बुधबार सुन्धारामा रहेको काठमाडौं मलस्थित नक्सा पासबिना बनाइएका संरचनाहरूलाई डोजर लगाएर भत्काएको हो ।

संरचना भत्काउनका लागि पुगेबम एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भए पनि अटेर गरेका कारण महानगरपालिकाले भत्काउनु परेको बताए । उनले कसैले पनि कानून जान्दिनँ भन्न नपाउने भन्दै कानूनको अवज्ञा कसैले गर्नु नहुनेमा जोड दिए । आफूहरू महानगरपालिकाले दिएको निर्देशनको पालनकर्ता भएको उनले बताए ।

काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरुमा खैलाबैला मच्चिएको छ । एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भएपनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे । सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाइ छ ।

अर्का व्यापारीले आफूहरूले सञ्चय कोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचना भत्काएको भए उपयुक्त हुने बताए । उनले आफूहरूको सम्झौताअनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चय कोषसँग कुरा गर्ने पनि बताए ।

काठमाडौं मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरूपको क्षतिपुर्ति दिनुपर्ने माग गरे । व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्शा पास विपरित बनाएको संरचना भत्काएको छ । सो स्थानमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मुल जिम्मेवारी महानगरको भए पनि आफूहरू सुरक्षाको निम्ति उपस्थित भएको बताए । उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्शा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरू हटाउँदै जाने सूचना आफूले पाएको बताए ।

अवैध संरचना हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुगेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर