विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमका बीच ती दुवै ठाउँहरूमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

संघीयताको मर्मअनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताए । उनले सो कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रहसमेत गरे ।

सामाजिक सुरक्षा कोषमा आबद्ध नभएकाहरूलाई सरकारले कानूनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरको भनाइ थियो । मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताहरुको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यकताअनुसार देशका अन्य जिल्लाहरूमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताए ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरूको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताए । उनले नेपालगञ्ज र बुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारीसमेत दिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर