निष्पक्ष र धाँधलीरहित निर्वाचनको सुनिश्चितता गर्न प्रकाशमानको माग

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहित हुनुपर्नेमा जोड दिएका छन् । उनले यसअघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमानदारितापूर्वक गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए ।

नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा नेपाली काँग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने बताए ।

नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासीन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए । उनले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताए । उनले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाइदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनुरूप आम नेपाली जनताले महसुस गर्ने गरेर अघि बढाउन नसकेको बताए ।

नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभई मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्त्वपूर्ण भूमका खेलेको स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर