पैंचो पसलको उत्पादन अमेरिका निर्यात हुने

पैंचो पसल प्रा.लि.द्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्रा.लि. र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पंैचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो ।

पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन गरी उत्पादन हुने पैंचोका सामानहरू अमेरिकी पसलहरूमा बिक्री विरतणको लागि राखिने भएको छ । पैंचोले उत्पादन गरेका उत्पादनहरूलाई विश्वभर छरिएर रहेका नेपालीहरूमाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यातको लागि नेपालको अग्नि एक्जिम प्रा.लि.को सहकार्यमा सम्झौता गरेको छ ।

सम्झौता कार्यक्रममा बोल्दै पैंचो पसल प्रा.लि.का बजार व्यवस्थापक लक्ष्मण गैरेले नेपाली उत्पादनको बजार विस्तार गर्दै अब अमेरिका प्रवेश गरेको बताए । उनले अमेरिकामा बस्ने नेपालीहरूले पैंचोको उत्पादनहरूलाई मन पराउने अपेक्षा गरेको बताए ।

गैरेले ‘बसे पनि शहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ २०७२ सालमा सुरु भएको पैंचो पसल प्रा.लि.का उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा रहेको बताए । उनले नेपालमा नै बसेर केही गर्न सकिन्छ भनेर स्थापना गरेको पैंचो पसलले अहिले विदेशमा निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

उनले नेपाली बजारमा प्रतिस्पर्धा गर्दै अहिले पैंचोको उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गरिरहेको बताए । गैरेले यसअघि जापान, अष्ट्रेलिया र युरोपका विभिन्न देशमा निर्यात गर्दै आएकोमा अबदेखि अमेरिकामा पनि निर्यात गर्ने बताए ।

त्यस्तै फेन्सी हाउस इन्कका प्रतिनिधि राज सराफले अमेरिकाका चारवटा राज्यमा नेपाली उत्पादनहरू बिक्री वितरण गर्ने गरेको बताए । उनले चार राज्यमा नेपाली १३५ ब्राण्डमा नेपाली फूड बजारमा बिक्री गर्ने गरेको बताए ।

सराफले अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी मार्केटिङ गरिरहेको बताए । उनले नेपालका बाजेको मसला, माटो ब्राण्ड, पैंचोलगायत कम्पनीहरूले विभिन्न सामग्री उत्पादन गरी अमेरिका निर्यात गरिरहेको बताए ।

२०७१ सालमा गुल्मीबाट सुरु भएको पैंचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भए पनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैंचोका उत्पादनले भूमिका खेलिरहेको कम्पनीको दाबी छ ।

यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरूलाई पैंचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । पैंचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रूपन्देही, बागलुङ, पर्वत, स्याङ्जा, रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका १० हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रूपमा आबद्ध रहेको पैंचो पसल प्रा.लि.ले जनाएको छ ।

पैंचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको च्याँख्लालगायतका खाद्य वस्तु उत्पादन गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *