एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन नेता कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरूलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको बताए । उनले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गरे । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठीक काम गर्न रोक्नुपर्ने पनि उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरूले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरूका प्रतिवेदन पेस गर्नेलगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर