माओवादीसँग मुद्दा मिलेका कारण तालमेल : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाएका हुन् ।

उनले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए । उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै ‘नोट अफ डिसेन्ट’ लेखेको पनि उल्लेख गरे ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तरविरोध रहेको स्पष्ट पारे । उनले आफूहरू राम्रो काम गर्ने र गलत तत्त्वहरूलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताएका हुन् ।

उनले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर