फ्याक्ट्री खाेलेर नक्कली विदेशी रक्सी उत्पादन र बिक्री गर्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो ।

विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ ५ गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएकोे आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको बताए । उनले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको बताए ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेको बताए । उनले उनीहरूले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव, लञ्च, डिस्को, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताए । उनले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताए ।

प्रमुख बोहोराले उनीहरूले स्टक क्लियरेन्स भन्दै बजार भाउभन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको बताए । उनले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताए ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताए । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामद भएको बताए । उनले बरामद गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताए ।
यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खाली बोतल ८ वटा, ब्ल्याक लेभलका खाली बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खाली बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खाली बोतलहरू ठूलो परिमाणमा बरामद भएको प्रमुखले बताए ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर