चाडबाडमा कालोबजारी रोक्न स्थानीय तहको सक्रियता आवश्यक : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दशँै–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडवाडमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

उनले चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नको लागि संघ, प्रदेश र स्थानीय तहले प्राथमिकता दिएर बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री बडूले बजार अनुगमनको लागि अहिले स्थानीय तह र प्रदेश सरकारलाई कानूनी समस्या नरहेको बताए ।
उनले प्रदेश सरकारलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६३ ले अनुगमनसम्बन्धी कानून बनाउने अधिकार दिएको बताए । मन्त्री बडूले उक्त ऐन अनुसार प्रदेश सरकारले बजार अनुगमन समिति बनाएर अनुगमन गर्नुपर्ने बताए ।

उनले स्थानीय तहले बजार अनुगमन गरेमात्रै प्रभावकारी हुनसक्ने दाबी गरे । उनले स्थानीय बजारको अनुगमनमा स्थानीय तह नै सक्रिय हुँदा अनुगमन गरेको जनताले अनुभुति गर्ने बताए । मन्त्री बडूले अहिले स्थानीय तह र प्रदेश सरकारले सही रुपमा अनुगमन गर्न नसकेको बताए ।

मन्त्री बडूले बजार अनुगमन गर्ने दायित्व आफ्नो पनि रहेको बुझेर स्थानीय तहले अनुगमन गर्नुपर्ने बताए । उनले सरकारले दुईपटक देशभर एकसाथ अनुगमन सुरु गरेको अनुभवले पनि स्थानीय तहको नै बजार अनुगमनमा क्रियाशीलता आवश्यक रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *