सडक निरीक्षणमा पुगेका मन्त्रीहरूलाई स्थानीयले भने- आश देखाएर निराश नबनाउनुस्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् ।

आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङल्हामु सडकखण्डअन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।

शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले ठेक्का पाएको ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमा पुगेका मन्त्रीद्वय राई र श्रेष्ठले अबको ४ महिनामा सडक निर्माण गरिसक्ने प्रतिबद्धता जनाए ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीहरूलाई कालो सूचीमा राखेर अब काम सुरु गर्ने बताए । उनले आमजनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसाबले काम भइरहेको बताए ।

उनले ठेक्का पाएको कम्पनीले ४ महिनाभित्र काम सकिसक्नुपर्ने बताए । उनले स्थानीयवासीका समस्या समाधान हुन अब समय नलाग्ने भन्दै ४ महिनामा नै सडक निर्माण भइसक्ने भएकाले ढुक्क हुन स्थानीयसँग आग्रह गरे ।

त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताए । उनले अब भने फास्ट ट्रयाकबाट काम अघि बढाउने बताए । उनले ४ महिनामा नै सबै काम सकिने गरेर ठेक्का प्रक्रिया आह्वान गरिएकाले काम समयमा नै सकिने प्रतिबद्धता जनाए । उनले ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहीत गर्न समयमा नै काम नसके क्षतिपूर्ति दिनुपर्ने नयाँ प्रक्रियागत व्यवस्थाको थालनी गरिएको बताए ।

सिसडोलका स्थानीयवासीहरू भने निरीक्षणका लागि पुगेका मन्त्रीहरूसँग रुष्ट देखिए । उनीहरूले सबै मन्त्रीहरू निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न आग्रह गरे । स्थानीयहरूले सडक निर्माण नभएकै कारण विद्यार्थीहरूले पढ्न नपाएको र जागिर खानेहरूले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुःखेसो पोखे ।

स्थानीयहरू ८ किलोमिटरभन्दा लामो रूटमा समेत कुनै पनि सार्वजनिक यातायात नराखेको भन्दै मन्त्रीहरूसँग ओक्रोशित बने । मड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे । आशा देखाउनकै लागि अवलोकन गर्न पुगेको हो भने आशा देखाएर नै निराश नबनाइदिन उनीहरूको माग छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर