सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न नेकपा (बहुमत)को माग

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र केपी ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको हो ।

सशस्त्र संघर्ष गरिरहेको नेकपालाई सरकारले २०७५ साल फागुन २८ गते प्रतिबन्ध घोषणा गरेको थियो । प्रतिबन्धकै क्रममा सशस्त्र गतिविधि जारी राखेपछि सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पक्रेर सरकारले मुद्दा चलाएको थियो । अन्ततः २०७७ साल फागुन २१ गते सरकार र नेकपाबीच ३ बुँदे सहमति भई सो पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।

पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेशपछि विप्लव नेतृत्वको नेकपाबाट विभाजन भई धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) बनेको थियो । सोही नेकपा (बहुमत) पार्टीले सरकारले सहमतिअनुरूप जेलमा रहेका नेता, कार्यकर्ताहरूलाई रिहाइ नगरेको भन्दै विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक बास्तोलाले आफ्ना नेता, कार्यकर्ताहरूलाई हालसम्म रिहाइ नगर्नु खेदजनक रहेको बताए । उनले तुरुन्त रिहाइ गर्न माग पनि गरे ।

तत्कालीन सरकारले नेकपासँग राजनीतिक समस्यालाई शान्तिपूर्ण तरिकाले छलफल र बहसको माध्यमबाट समाधान गर्दै जाने सहमति गरेको भए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

उनले सबै मुद्दाहरू खारेज गर्न माग गरे । संयोजक बास्तोलाले तत्कालीन सरकारको नेतृत्वकर्ता एमाले, वर्तमान गठबन्धन सरकारमा रहेका सबै पार्टी र नेताहरुले पनि सहमति लागू गराउन पहल गर्नुपर्ने बताए । उनले आफूहरूको माग पूरा नभएमा सरकारले आफ्नो नीति स्पष्ट पार्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर