‘चालु आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुन्छ’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।

आइतबार ऊर्जा, जलस्रोतत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका हुन् ।

घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत् निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए ।

उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए । घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए ।

घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युत्को माग अत्यधिक रहेको बताए । उनले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत् खपत भइरहेको पनि बताए । उनले विद्युत् खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत् खपत बढ्ने दाबी गरे ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत् जनतालाई निःशुल्क दिन सकिने बताए । उनले आगामी केही वर्ष विद्युत्का पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत् महसुल तिर्नुपर्ने बताए ।

घिसिङले तत्कालको लागि उद्योगहरूलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गरे । उनले सरकारले कोभिडलगायतका कारणले छुट दिएको बताए ।

उनले अहिलेसम्म करिब ९३ प्रतिशत विद्युत्को पहुँच पुगेको बताए । आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युत्को पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको उहाँको भनाई छ । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत् खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले पछिल्लो समय कुनै पनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत् प्राधिकरणले मूल्य घटाएको बताए । घिसिङले गत आर्थिक वर्षमा विद्युत् महसुल बढाएर नभई घटाएर भए पनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *