अहिलेकै गठबन्धनमा चुनाव लड्छौं, बुधबारसम्म सिट बाँडफाँट टुंगो लाग्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे । उनले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने र २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताए ।

अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गरे । उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताए ।

अध्यक्ष दाहालले गठबन्धन अबपनि रहने कि नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गरे । उनले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गरे । उनले तत्कालीन नेकपा रहँदा आफूहरूविरुद्ध षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्तावेजसहितको राजनैतिक बम नेकपा सचिवालयमा वर्षाएको बताए ।

अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाए । उनले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताए ।

उनले संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताए । उनले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनशायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताए ।

अध्यक्ष दाहालले नागरिकता विहीन ७ लाख नेपालीहरूलाई नागरिकता प्रदान गर्न र वैवाहिक अंगीकृतको बारेमा राष्ट्रिय सहमति गरेर अघि बढ्ने सहमति अनुसार नै अहिले नागरिकता विधेयक ल्याएको बताए ।

अध्यक्ष दाहालले सरकार राष्ट्रिय सहमति बनाएर वैवाहिक अंगीकृतको बारेमा पनि प्रतिबद्ध रहेको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौं उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय निर्वाचन सेन्टिमेण्टले जितेको दाबी गर्दै माओवादी केन्द्रले पनि बालेन्द्रले भन्दा चर्को सेन्टिमेण्टकाे उपाय खोजिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर