नागरिकता विधेयकमा राष्ट्रपतिको सुझाव सकारात्मक छ : राष्ट्रिय सभा सांसदहरू

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सुझावलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य दाहालले नागरिकतासम्बन्धी विधेयकमा राष्ट्रपति भण्डारीले दिएको सुझावलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले राज्य व्यवस्था समितिले पारित गरेको विधेयकलाई फिर्ता गरेर सरकारले अर्को विधेयक ल्याउनु आवश्यक नभएको तर्क गरे ।

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रपतिले नागरिकता सम्बन्धी विधेयकलाई असंवैधानिक र अनुपयुक्त नभनेको बताए । उनले विधेयकमा समावेश भएका कुराहरुलाई सर्वसम्मत रूपले पास गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले दिएको सुझावको सम्बन्धमा कानूनविद् तथा विज्ञहरूसँग छलफल गर्नुपर्ने धारणा राखे । उनले नागरिकता विधेयकमा सहमती जुटाउनुको साटो सत्तारूढ गठबन्धनले यस विषयमा राजनीति गर्न खोजेको आरोप लगाए ।

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयकमा आफ्नो संशोधन कायम रहेकाले सो संशोधन उपर छलफल गर्न माग गरिन् । उनले महिलाले स्वघोषणा गर्नुपर्ने र लैंगिक समानताको सम्बन्धमा आफ्नो संशोधन रहेको स्पष्ट पारिन् । विधेयक पुनः छलफलमा आएसँगै आफूले राखेको संशोधनमाथि पनि छलफल हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले नागरिकता विधेयकको कुनै पनि दफामा राष्ट्रपतिको असहमति नभएको बताए । उनले असहमति नभएको विषयलाई अड्काएर राख्नु उपयुक्त नहुने तर्क गरे ।

राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता पाउनेगरी कानून बनाउनु आफूहरूको कर्तव्य भएको बताए । उनले न्यायसंगत कानून बनाइ उनीहरूलाई संवैधानिक अधिकार प्रदान गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *