सञ्चालनमा आयो रत्नपार्कको चार्जिङ स्टेशन, निजी स्टेशनको चार्ज शुल्क घटाउने कुलमानको प्रतिबद्धता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेशनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेशनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए ।

उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डीसी क्षमताको रहेको बताए । उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए । उनले चार्जिङ स्टेशनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताए ।

घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । उनले चार्जिङ स्टेशनमा समय नुसार फरकफरक राति पिक समयमा ८.७० पैसा ,रातिको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताए ।

उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेशनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेशन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए ।

प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेशन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेशन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गालगायतका स्थानमा चार्जिङ स्टेशन जडान गर्न लागेको हो ।

विद्युत खपत प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरूमा द्रुत सवारी चार्जिङ स्टेशनहरूको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेशन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेशनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर