जम्मै सिट आफू लिने अनि उब्रिएको सिट हामीलाई दिने कुरा स्वीकार्य हुँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलहरूले आगामी निर्वाचनका लागि बाँकी रहेको सिटमात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनमा उब्रिएको सिटमात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

उनले गठबन्धन बनाउनका लागि आफ्नो पार्टीले खेलेको भूमिकालाई नजरअन्दाज नगर्न चेतावनी दिए । उनले गठबन्धन दुवै पक्षलाई फाइदा हुनका लागि गरिएको उल्लेख गर्दै आफूहरूलाई फाइदा नभएमा कसैको निम्ति भर्‍याङ नबन्ने स्पष्ट पारे ।

अध्यक्ष नेपालले आफूहरूले पाँचदलीय गठबन्धनलाई हातेमालो गर्दै अगाडि बढाउन चाहेको बताए । ‘जम्मै सिट आफूले लिने अनि उब्रिएको सिट हामीलाई दिने । यो कुरा हुन्छ भने त्यो हामीलाई स्वीकार्य हुन सक्दैन भन्ने कुरा पनि म प्रष्ट पार्न चाहन्छु । धेरै ठाउँको मैले रिपोर्ट पाएको छु,’ नेता नेपालले भने, ‘साथीहरूले भन्नुभएको छ, त्यस्तै पर्‍याे भने हामी दृढताकासाथ अघि बढ्ने काम गर्छौं कमरेड । हामी कोही पनि आत्तिनुपर्ने आवश्यकता छैन । गठबन्धन भनेको दुई वटैलाई फाइदा हुने, वीन–वीन जसलाई भनिन्छ । फाइदा हुन्छ भने गठबन्धन हुन्छ । अब फाइदा हुँदैन भने अरू कसैको निम्ति हामी भर्‍याङ हुन चाहँदैनौं ।’

उनले संकटको बेलामा साथ दिने सहयात्रीलाई अवमूल्यन गर्नु नहुने बताए । अध्यक्ष नेपालले सिट बाँडफाँटको विषय छिटोभन्दा छिटो टुंग्याउन चाहेको पनि स्पष्ट पारे ।

युवा संघ नेपालले पत्रकार सम्मेलनमार्फत महाकाली–मेची युवा जागरण अभियान–२०७९ घोषणा गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा खर्चिला, भड्किला निर्वाचन प्रचार कार्यक्रम तथा उम्मेदवारहरूलाई बहिष्कार गर्न र पार्टीको निर्वाचन चिन्ह कलममा मत माग्ने उद्देश्यले भाद्र १५ गतेदेखि २३ गतेसम्म अभियान सञ्चालन गर्न लागेको युवा संघ नेपालले जनाएको छ । अभियानको मुल नारा ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *