ओलीले एमाले नेता कार्यकर्तालाई भने– चुनावमा धाँधली भए प्रतिवादमा उत्रिनुस्

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए । उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।

अध्यक्ष ओलीले नेकपा एमाले गँड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।

उनले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे । नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए ।

उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर बेहाल बनाएको दाबी गरे । उनले जात जातलाई भिडाएर आफ्नो दुनो सोझ्याउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर