अपांगता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने सरकारकाे तयारी

सरकारले अपांगता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अमूल्य फाउण्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपांगता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए । उनले समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरू पर्ने गरेको उल्लेख गर्दै उनीहरूलाई लक्षित गरेर नीति बनाउन लागेको बता्रए । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हकहित, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए । उनले योजना तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताए ।

कार्यक्रममा अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी जानकारीमूलक हातेपुस्तिका पनि विमोचन भएको छ । पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो । पुस्तक विमोचनपछि अतुल्य फाउण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेर स्वामित्व लिएकोमा खुशी प्रकट गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *