काठमाडौंका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागुऔषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

उनीहरूको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागुऔषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए ।

त्यसैगरी लागुऔषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्सलको रूपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध ऐनअनुसार म्याद थप गरेर अनुसन्धान तथा कारबाही भइरहेको उनले बताए ।

उनीहरूको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागु औषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *