सरकारले निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा गरेको भन्दै एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्ला–जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

स्थानीय तह निर्वाचनमा पनि सत्तारूढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरू परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै प्रमुख सचेतक भट्टराईले आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको बताए । जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उनको भनाइ थियो ।

निर्वाचन आयोगले यही भदौं २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

प्रमुख सचेतक भट्टराईले हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिनदेखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइ गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *