राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिने अवस्था आउनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा उनले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताए ।

उनले राष्ट्रपतिसँग अब दोस्रो पटक संसद्बाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणीकरण नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनी दिए । उनले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणीकरण गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक प्रस्ताव लैजाँदा सोच्दै नसोचेर प्रमाणीकरण गरेको भन्दै अहिले किन नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने बताए ।

अध्यक्ष दाहालले सत्तारूढ गठबन्धनमा सहमतिअनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताए । उनले शुक्रबार बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबी गरे ।

अध्यक्ष दाहालले अंगीकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भए पनि त्यतिबेला सर्वसम्मत हुन नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर