कांग्रेसलाई रूपान्तरण गरी नवीन बनाउन आवश्यक छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई रूपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सुन्दरीजलमा नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औं जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमीकमजोरीलाई आत्मलोचना गरी रूपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए ।

उनले नेपाली कांग्रेसलाई एकातिर बदलिएको बलियो कांग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकूलताको बीचमा बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । उनले ५ वर्षको सरकारको कुरा नभई १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए । उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटेर घोषणापत्र बनाउने बताए ।

महामन्त्री शर्माले नेपाली कांग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली कांग्रेस पार्टीलाई बलियो दलको रूपमा बहुमत लक्षित दलको रूपमा स्थापित गर्न अग्रसर हुने बताए । उनले नेपाली कांग्रेस पार्टीले २१औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको सुरुवात गर्ने घोषणा गरे ।

महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रमबाहेक अरू नभएको जिकिर गरे । उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थव्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा कांग्रेस अघि बढ्ने बताए ।

महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूर्वक काम गर्नुपर्ने बेला भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर