सर्वोच्चको भवन निर्माण ठेक्कामा चोलेन्द्रले स्विकारे गल्ती

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले गल्ती गरेको स्वीकार गरेका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् ।

समितिका सदस्यहरूले सोधेका सोसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले रजिष्ट्रारले सदर गर्नुपर्ने सो फाइल आफूले सदर गरेर गल्ती गरेको बताए । सो क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताएको समितिका सदस्य समेत रहेका काग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा जबरामाथि भ्रष्टाचारसम्बन्धी प्रश्नहरू सोधिएको थियो ।

यसैबीच समितिले जबरामाथि लगाइएको महाभियोगको डकुमेन्टेशनको काम भने यही भदौ २८ गतेदेखि सुरु गर्ने जनाएको छ । समितिका सदस्य एवम् एमालेका सांसद कृष्णभक्त पोखरेलले उनीमाथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमन्टहरूको व्यवस्थापन गर्ने काम २८ गतेबाट सुरु गर्ने योजना तय गरिएको बताए ।

प्रमुख प्रतिपक्ष एमालेले जबरामाथि लगाइएको महाभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर