चीन–नेपाल संसदीय सहकार्य नेपालका लागि नयाँ आयाम : चिनियाँ मामिला जानकार सापकोटा

चिनियाँ मामिला जानकार रूपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताएका छन् । विश्वका विकसित देशहरूले नेपालको संसद्सँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसद्ले नयाँ उचाइ छोएको बताएका हुन् ।

उनले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसद्सँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताए । उनले चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्त्वपूर्ण आयाम थपिएको पनि बताए ।

उनले नेपालले अवलम्बन गरेको सुधारिएको संसदीय व्यवस्था र संसद्को विस्तारित भूमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताए । उनले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई सुरुवात गर्ने कुरा उल्लेख गरिएको पनि बताए ।

सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भूमिका देखिनु सुखद् पक्ष रहेको बताए । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले नेपालमा भूराजनीतिक महत्त्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरू अमेरिका, भारत र चीनबाट धेरै सहभागिता र महत्त्वपूर्ण उच्चस्तरीय भ्रमणहरू भइरहेको बताए ।

उनले अहिलेको नेपालको भूराजनीतिक महत्त्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने बताए । जानकार सापकोटाले भूराजनीतिक महत्त्व बढेसँगै नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिस्पर्धा पनि शक्ति राष्ट्रबीचमा बढिरहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालको सार्वभौम संसद्को भूमिका बढेर गएको बताए ।

जानकार सापकोटाले नेपालको संसद्मा पनि असल संसदीय अभ्यासहरू रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरू सिक्न लायक रहेको बताउए । उनले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरूलाई बढावा दिने बताए ।

उनले सरकारसँगको सम्बन्धपछि संसद्बीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने कुरा आफैँमा राम्रो रहेको बताए । उनले संसद्सँग संसद्को सहकार्य छुटिरहेको अवस्थामा चीन र नेपालबीचको संसदीय सहकार्य सुचारु हुनेले नेपाल र चीनसँगको नयाँ आयाम विस्तार भएको उल्लेख गरे ।

जानकार सापकोटाले शक्ति राष्ट्रहरूसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्त्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताए । उनले अमेरिका, चीन र भारतबीच त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमूक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताए ।

उनले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरूको पहल गर्ने कुरामा फाइदा उठाउन सक्नुपर्ने बताए । उनले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए ।

उनले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको र आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरूमा सहकार्य गर्न अघि सर्नुपर्ने बताए ।

सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन परियोजनामा नेपाल सरिक हुन नहुने बताए । उनले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरूबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर