कारागार व्यवस्थापनका लागि बजेट अभाव छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाणले यस्तो बताएका हुन् । उनले कारागार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसद्को पनि गम्भीर ध्यानाकर्षण गराए ।

कारागारमा बन्दीहरूको संख्या पनि ठूलो रहेको र त्यसको भौतिक पूर्वाधार व्यवस्थापनको काम पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले त्यसको उचित व्यवस्थापनका लागि सरकार र संसद् दुवैले पहल गर्नुपर्ने बताए । उनले सरकारले ल्याएको सो विधेयकले कारागार व्यवस्थापन र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।

गृहमन्त्री खाणले कारगारलाई सुधार गृहको रूपमा रुपान्तरण गर्ने कोसिसलाई सार्थक बनाउने गरी सो विधेयकले कैद मिनाहाको प्रावधानलाई पनि अझै खुकुलो बनाएको बताए । विधेयकमा कारागारमा रहेका बन्दीहरूको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने मनसाय पनि रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर