बालबालिकाको बचतका लागि नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ स्किम

नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ ।

‘नबिल जेन अल्फा’ एपमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताए । उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रूपमा नबिल जेन सुरु गरेको बताए ।

सीईओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा बालबालिकालाई बचत गर्ने बानी बसाउने दाबी गरे ।

त्यस्तै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकाहरूलाई पनि बचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताए । उनले देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकाहरूलाई समेत जिम्मेवार बनाउनुपर्ने बताए । अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकाहरूलाई बचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताए ।

बालबालिकाहरूले दिइएको कार्यसम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । यो स्किममार्फत बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अतिआवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *