जनताले देशको चाबी माओवादीलाई सुम्पिन चाहेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीति कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए । उनले माओवादी नेता कार्यकर्ताहरूले जनताको बीचमा जानुपर्ने कुरालगायतका जनमुखी काम गर्न मेहनत नगरेको पनि बताए ।

उनले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने बताए । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितका लागि आवश्यक मेहनत गर्नुपर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढंगले पार्टी अघि बढ्ने बताए । उनले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सुदृढ, सुमधुर हुन नसके कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे ।

अध्यक्ष दाहालले नेकपा (माओवादी केन्द्र)लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पार्टीभित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यकता रहेको बताए । समाजवादको लागि कम्युनिष्टहरूबीचमा एकताको आवश्यकता रहेको भन्दै अध्यक्ष दाहालले व्यावहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर