ओलीमाथि प्रचण्डको आरोप- भ्रष्टाचार गर्दिनँ भनेर भ्रष्टाचार मात्रै गरे

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन् ।

उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाए । उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ भन्ने बारेमा विचार गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए ।

अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए । उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरूले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे ।

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरूमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक संकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए ।

उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे । अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताए ।

अध्यक्ष दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर