सरकार आम नेपालीहरूको जीवन रक्षाका लागि प्रतिबद्ध छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकार आम नेपालीहरूको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्नु नहुने बताए ।

उनले नेपाल प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका लागि र शान्ति सुरक्षाको लागि प्रतिबद्धतापूर्वक काम गरेको उल्लेख गरे । गृहमन्त्री खाणले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्यासम्बन्धी तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले आर्थिक वर्ष २०७७/०७८ मा कोभिडको बेलामा ९ हजार ४०९ जनालाई कोभिडका कारणले गुमाएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताए । उनले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दा पनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताए ।

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताए । उनले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक भएको बताए ।

कार्यक्रममा काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जीवनमा जित्ने मात्र नभई हार्न पनि सक्नुपर्ने बताए । उनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्विकारेर अघि बढ्नु नै जीवन रहेको बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताइन् । उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताइन् ।

आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । काठमाडौंमा आज बिहान सचेतनामूलक प्रभातफेरी कार्यक्रमसमेत भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर