सरकारको अबको गन्तव्य मुलुकको द्रुत आर्थिक रूपान्तरण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत आर्थिक रूपान्तरण रहेको बताएका छन् ।

सोमबार सैनिक मञ्च टुँडिखेलमा ८औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड–१९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको बताए ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एवं नागरिकहरूलाई आग्रह गरे । उनले संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरू तर्जुमा भई कार्यान्वयनमा आएको बताए । प्रधानमन्त्री देउवाले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामूलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरे । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर